Friday, January 26, 2018

अब राजधानीमा मोनो रेल


काठमाडौं, २६ माघ

राजधानीवासीले रेल चढ्ने सपना देख्न थालेको वर्षौं बित्यो । तर, सपना पूरा कहिले होला ? अनुमान गर्न गाह्रो छ । पटकपटक उपत्यकामा मेट्रो रेलको चर्चा चल्दै आए पनि प्रगति शून्यप्रायः छ । मेट्रो रेलको सपना देखिरहेका राजधानीवासीलाई काठमाडौं महानगरपालिकाले फेरि अर्को रेल सपना देखाएको छ । महानगरपालिकाले काठमाडौंमा ‘स्काई ट्रेन’ को सम्भाव्यता अध्ययन गर्ने भएको छ । महानगरपालिकाले उपत्यकामा ‘स्काई ट्रेन’ अर्थात् ‘मोनो रेल’ कुदाउनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको हो ।
सम्भाव्यता अध्ययनका लागि महानगरले वाईबीडी साइमेक्स कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मेट्रो रेलभन्दा निर्माणमा सस्तो मोनो रेलको सम्भाव्यता एक वर्षभित्र सक्ने लक्ष्यसहित दुई वर्षभित्र छोटो रुटमा मोनो रेलको परीक्षण गर्ने लक्ष्य महानगरपालिकाको रहेको कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए । सम्झौताअनुसार वाईबीडी साइमेक्सले तीन महिनाभित्र उपत्यकाभित्र १० किलोमिटरको रुटमा सम्भाव्यता अध्ययन सकेर प्रारम्भिक रूपमा प्रतिवेदन पेस गर्नेछ । त्यस्तै, एक वर्षभित्र काठमाडौं उपत्यकाभित्र मोनोरेलको सम्भाव्यता अध्ययन सक्ने बताइएको छ ।

काठमाडौंमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो रहेको तमाङको भनाइ छ । उनका अनुसार महानगरले मोनो रेल सार्वजनिक–निजी साझेदारीअन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागेको हो ।
उपत्यकाको पूर्वाधार मेट्रो रेलभन्दा पनि मोनो रेलका लागि उपयुक्त भएकाले मोनो रेलको सम्भाव्यता अध्ययन गर्न लागिएको उनले बताए । ‘मेट्रो रेल जमिनमुनि कुद्ने भएकाले निर्माण तथा सञ्चालन लागत पनि बढी हुन्छ, मोनो रेल भने हाम्रो सहरको पूर्वाधारसँग म्याच हुने देखियो,’ उनले भने, ‘त्यसैले पनि यसलाई अगाडि बढाउन लागिएको हो ।’ सम्भाव्यता अध्ययनपछि कुन मोडालिटीमा मोनो रेल चलाइनेभन्ने निक्र्योल गरिने उनले बताए ।

घना बस्ती भएका स्थानहरूमा मोनो रेलको सम्भावना मेट्रो रेलको भन्दा बढी देखिन्छ । भारतमा १५ सहरमा मोनो रेल सञ्चालनमा छन् । त्यस्तै, बंगलादेशमा पनि यसको निर्माण भइरहेको छ । महानगरले दुई वर्षमा राजधानीमा मोनो रेल कुदाउने योजना सार्वजनिक गरे पनि रेल विभाग भने यो विषयमा अनभिज्ञ छ ।

देशभर रेलमार्ग विकासका लागि भन्दै गठन भएको रेल विभागलाई अहिलेसम्म राजधानीमा कुद्ने मोनो रेलका बारेमा जानकारी नभएको विभागका सिनियर डिभिजनले इन्जिनियर प्रकाश उपाध्यायले राजधानीलाई बताए । ‘अहिलेसम्म विभाग यस विषयमा अनभिज्ञ छ, हामीलाई आधिकारिक रूपमा कुनै पनि निकायले मोनो रेलका बारेमा जानकारी गराएको छैन,’ उनले भने ।

कहाँ पुग्यो काठमाडौं मेट्रो रेल ?

काठमाडौंमा मेट्रोको सम्भाव्यता अध्ययन गरी कोरियन कम्पनीले तयार गरेको रिपोर्टमा मेट्रो ७७ दशमलव २८ किमि लामो मेट्रो रेल लाइनको विस्तार गर्न सकिने उल्लेख छ । कोरियन कम्पनीले पेस गरेको प्रस्तावमा १४ वर्षभित्र ५५ करोड अमेरिकी डलरमा सबै काम सक्ने जनाएको थियो ।

गत पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता, नमुना अध्ययनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा गठित कार्यदलले सञ्चालन लागतसहितको ढाँचाका बारेमा अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन तयार गर्ने बताइएको छ ।

काठमाडौंमा मेट्रो रेल चलाउँदा अकासे र भूमिगत दुवै मार्ग तय गर्नुपर्ने देखाएको थियो । औसत रूपमा काठमाडौंमा निर्माण हुने मेट्रो रेलको लागत प्रतिकिलोमिटर ७ अर्बभन्दा बढी लाग्ने कोरियन कम्पनीको अध्ययनले देखाएको छ । त्यति मात्र होइन, काठमाडौंको माटोले पनि मेट्रो रेल गुड्न महँगो हुने देखाउँछ ।

काठमाडौंमा मेट्रो रेल कसले कुन मोडालिटीमा चलाउने भन्ने पनि अन्योल छ । काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डलाई जिम्मा दिइए पनि रेल कसले बनाउने भन्ने टुंगो लागेको छैन ।

नेपालमा रेल सेवाको विकासका लागि रेल विभाग बनेको छ । सरकारले बनाएको मेट्रो रेलको सम्भाव्यता अध्ययन समितिमा विभागको पनि प्रतिनिधित्व छ । तर, बोर्डले मेट्रो रेलको अध्ययन मात्र गर्ने कि बनाउने पनि भन्ने अन्योल कायम रहेको विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए ।

के फरक छ मोनो र मेट्रोमा ?
  
मोनो रेल आकाशमाथि ट्रलीमा गुड्ने रेल हो । मुख्य गरी घना बस्ती तथा सडक भएका स्थानमा चौडा सडकमाथि फ्लाई ओभर बनाएर त्यसमाथि रेल गुडाइन्छ । एउटा मात्र लिकमा गुड्ने भएकाले मोनो रेल भनिएको हो । जमिनबाट उठाइएको एउटा बिमको सहारामा यो रेल गुड्छ ।

मोनो रेल घना बस्ती र साँघुरा सडकमाथि पनि निर्माण गर्न सकिन्छ । तर, मेट्रो रेल साँघुरा बस्तीमा बनाउन सकिँदैन । मोनोको तुलनामा मेट्रो रेल निर्माणमा अधिक समय लाग्छ । निर्माणमा सस्तो भएकाले मोनो रेलको गति तथा क्षमता मेट्रो रेलको भन्दा कम हुन्छ । मोनो रेल वातावरणमैत्री मानिन्छ । यसले मेट्रो रेलले भन्दा कम ध्वनि निकाल्छ । मोनो रेलको सम्भाव्यता अध्ययन समझदारीपत्रमा हस्ताक्षर गर्ने वाईबीडी साइमेक्सका अध्यक्ष प्रसिद्धजंग पाण्डेका अनुसार काठमाडौंमा मेट्रो रेलभन्दा मोनो रेल ८० गुणा सस्तो पर्छ । समयका हिसाबले पनि मेट्रो रेल निर्माणभन्दा मोनो रेल चाँडो बन्न सक्छ ।
साभारः राजधानी डेल्ली डट कम

No comments:

Post a Comment

अमेरिका द्वारा कुलमान घिसिङको प्रशंसा

अमेरिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ । अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले एक दैनिकमा ‘भ...